प्रसिद्ध भैरवस्थानमा हरेलो मेला
बाग्लुङ | साउन २८, २०७९
तस्बिरः खेमराज गौतमको फेसबुकबाट साभार
बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि हरेलो मेला लाग्ने भएको छ । पहिलो पटक बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित भैरवको मन्दिर परिसरमा भदौको पहिलो मङ्गलबार हरेलो मेला लाग्ने भएको हो ।
हरेलो मेला व्यवस्थापनका लागि स्थानीयको भेलाले राजु हमालको अध्यक्षतामा हरेलो मेला व्यवस्थापन समिति गठन गरेको छ । बलेवा क्षेत्रमा पर्ने छ वडाका सर्वसाधारणको भेलामा उपस्थिति थियो । आउँदो भदौ ६ र ७ गते मेला गर्ने तय भएको समितिका अध्यक्ष हमालले बताउनुभयो ।
“पहिलो पटक हामीले मेला आयोजना गर्दैछौँ । यसअघि भदौ पहिलो साता भैरवस्थानमा परम्परागत पूजाआजा मात्रै हुने गरेको थियो”, उहाँले भन्नुभयो । मेलामा भजन प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, तीज गीत प्रतियोगिता र विभिन्न झाँकी तथा कलाकारको प्रस्तुति रहने अध्यक्ष हमालले बताउनुभयो । मेला व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।
“यो ऐतिहासिक मेला हो, हरेलो मेलाले भैरवस्थानको प्रचारप्रसार र धार्मिक पर्यटन विकासमा ठूलो अर्थ राख्ने छ”, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भन्नुभयो, “मेलालाई निरन्तरता दिनुपर्छ ।”
मेला व्यवस्थापनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको छ । भैरवस्थान मन्दिर हरेक मङ्गलबार र शनिबारमात्रै खुल्छ । बाइसे–चौबीसे राजाका पालादेखि बलेवा कोटअन्तर्गतका सबै क्षेत्रमा भदौको पहिलो मङ्गलबार हरेलो पर्व मनाउने चलन छ । खेतीपाती सकेपछि कीरा–फट्याङ्ग्रा र बाढीपहिरो नलागोस् भनेर यो पर्व मनाउने चलन रहेको बलेवा, पैँयुपाटाका भवानीप्रसाद रिजालले बताउनुभयो ।
यो पर्वकाअवसरमा कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । दसैँको नवमीको दिन पनि कालभैरवमा भीड लाग्ने गरेको बागलुङ–१२ अमलाचौरका वडाध्यक्ष कोपिलामणि शर्माले बताउनुभयो ।
बलेवा कालभैरव साविकको पश्चिमाञ्चलकै प्रसिद्ध तीर्थस्थल हो । कालभैरवलाई पशुबलिसँगै नरिवल र फलफूल चढाउने चलन छ । कालभैरवमा बलि दिँदा घरपरिवारको दुःख नाश हुने र सुखशान्ति प्राप्त हुने विश्वासले आउने गरेको म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरकी नानु बुढाथोकीले बताउनुभयो । पछिल्लो समय पशुबलिको तुलनामा फलफूल चढाउने संस्कृति विकास हुँदै गएको छ । पशुबलि दिने चलन पनि अन्त्य भइनसकेको स्थानीय नन्दप्रसाद घिमिरेले बताउनुभयो ।
कालभैरवमा पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, नवलपुर, कास्की, तनहुँ, लमजुङ, गुल्मी, प्यूठान, अर्घाखाँची, काठमाडौँ, चितवनलगायत जिल्लाबाट दर्शनार्थी आउने गरेका छन् ।
अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार ...
पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चा...

